दफा ५३
उजुरी गर्न सक्ने
(१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक अनुसूची–४ बमोजिमको कुनै कसूरको सम्बन्धमा अदालतमा देहायको ब्यक्तिले उजुरी दिन सक्नेछः–
(क) कसूरबाट क्षति पुगेको ब्यक्ति,
(ख) आफ्नाे नोकरीको सिलसिलामा अन्यत्र खटिएको वा विदेशमा रहेको राष्ट्रसेवकले उजुर गर्न पर्ने कुराको सम्बन्धमा निजको नजिकको कुनै हकवाला,
(ग) कुनै ब्यक्तिले कुनै पद, ओहदा वा अन्य कुनै हैसियतले गर्नु पर्ने कुनै काम वा संरक्षण गर्नु पर्ने कुनै कुराको सम्बन्धमा त्यस्तो पद, ओहदा वा हैसियतमा रहेको ब्यक्ति,
(घ) बहिरा, दृष्टिविहीन बालबालिका वा पचहत्तर वर्ष उमेर नाघेको ब्यक्ति वा शारीरिक वा मानसिक रोगले असमर्थ भएको ब्यक्तिले उजुर गर्न पाउने कुराको सम्बन्धमा निजको एकाघरको हकवाला र त्यस्तो हकवाला नभए अन्य कुनै हकवाला वा संरक्षक,
(ङ) कसूरबाट कुनै सङ्गठित संस्थालाई क्षति पुगेकोमा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने अधिकार प्राप्त सञ्चालक वा सदस्य, प्रशासक वा प्रमुख कार्यकारी अधिकृत ।
(२) उपदफा (१) बमोजिमको उजुरी दिँदा देहायको विवरण खुलाई अनुसूची–२१ बमोजिमको ढाँचामा दिनु पर्नेछः–
(क) अभियुक्त वा प्रतिवादीको नाम, थर, वतन (टोल समेत) हुलिया, उमेर, पेशा वा व्यवसाय, बाबु आमा वा पति वा पत्नीको नाम,
(ख) अभियुक्त वा प्रतिवादीको नागरिकता, राहदानी सवारी चालक इजाजतपत्र वा सजिलैसँग फेला पार्न सकिने अन्य परिचयात्मक विवरण,
(ग) अभियुक्त वा प्रतिवादी रहे बसेको गाउँपालिका वा नगरपालिका, वडा नं., गाउँ, टोल, भएसम्म ब्लक नं. र अभियुक्तको थाहा भएसम्मको अन्य विवरण,
(घ) अरुको घरमा डेरा गरी बसेको भए थाहा भएसम्म घरधनीको नाम, थर र ठेगाना,
(ङ) अभियुक्त वा प्रतिवादीको स्थायी बासस्थान नभए निज बसेको घर धनीको नाम थर र वतन,
(च) कसूर सम्बन्धी विवरण,
(छ) एकै पटकमा एकभन्दा बढी कसूर भएको भए अभियुक्त वा प्रतिवादी उपर लगाइएको प्रत्येक अभियोग र तत्सम्बन्धी प्रमाण,
(ज) प्रयोग हुनु पर्ने सम्बन्धित कानून र त्यसको आधार,
(झ) अभियुक्त वा प्रतिवादीलाई हुनु पर्ने सजायको माग दावी र सोको आधार,
(ञ) कसूरबाट पुगेको क्षति र अभियुक्त वा प्रतिवादीबाट क्षतिपूर्ति भराउनु पर्ने भए क्षतिपूर्तिको रकम र त्यसको आधार,
(ट) अन्य आवश्यक कुरा ।
(३) उपदफा (१) बमोजिम उजुरी दिँदा त्यस्तो उजुरीको साथ अभियुक्त वा प्रतिवादीको सङ्ख्या बरावरको उजुरीको नक्कल र उजुरवालाले पेश गर्न चाहेको लिखत प्रमाणहरुको एक प्रति नक्कल पनि पेश गर्नु पर्छ ।
………………………………